अफगानिस्तानले पाकिस्तानबाट राजदूतसहित सबैकर्मचारी फिर्ता बोलायो

0

 अफगानिस्तानले पाकिस्तानबाट राजदूतसहित सबै कूटनीतिक कर्मचारीलाई फिर्ता बोलाएको छ । अफगानिस्तानको विदेशमन्त्रालयका अनुसार राष्ट्रपति असरफ घानीको आदेशमा पाकिस्तानका लागि राजदूत नजिबुल्लाह अलिखिलसहित सबै कूटनीतिक कर्मचारीलाई फिर्ता बोलाइएको हो ।

पाकिस्तानका लागि अफगानी राजदूत नजिबुल्लाह अलिखिल

 

सुरक्षा चुनौतीका कारण राजदूतसहित सबै कर्मचारीलाई फिर्ता बोलाइएको अफगानिस्ताले जनाएको छ ।

यसअघि इस्लामाबादमा राजदूत नजिबुल्लाहलाई अज्ञात हतियारधारीले अपहरणको प्रयास गरेका थिए । पाकिस्तान प्रहरीका अनुसार हतियारधारीहरूको उक्त समूहले राजदूतकी छोरी अलिखिललाई दुर्व्यवहार गरेर भागेका थिए ।

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले उक्त घटनाबारे जानकारी लिँदै प्रहरी र जाँच एजेन्सीलाई अनुसन्धान गर्न निर्देशन दिएका छन् ।

पछिल्लो समय अफगानिस्तानबाट विदेशी सेना फिर्ता हुने भएपछि सुरक्षा चुनौती थपिएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले सेप्टेम्बर ११ सम्ममा सबै अमेरिकी सेना फिर्ता बोलाउने बताएका छन् । तर पछिल्लो समय तालिबान प्रभावित क्षेत्रमा हिंसा मच्चिएको छ ।

तालिबानले तोकिएको समयसीमाभित्रै सबै विदेशी सेनाले अफगानिस्तान छोड्नुपर्ने बताएको छ भने अफगान सुरक्षा फौजमाथि आक्रमण गरिरहेको छ । केही दिनअघि कन्दाहारमा तालिबानसँगको भिडन्तमा परी अफगान सुरक्षा फौजका उच्च अधिकारीसहित रोयटर्सका चर्चित  फोटोपत्रकार दानिस सिद्दिकीको मृत्यु  भएको थियो ।