अमेरिकामा नेपाली मूर्तिको प्रमाण खोजी

0

अमेरिकाको येल युनिभर्सिटीले नेपाली मूर्ति ‘पार्वती’ को उत्पत्ति पहिचान गर्ने प्रक्रिया अघि बढाएको छ । भक्तपुरको गोलमढीबाट चार दशकअघि हराएको अंशुवर्माकालीन उक्त मूर्ति अमेरिकाको कनेटिकटस्थित येल युनिभर्सिटीमा पाइएको सूचना हालै सार्वजनिक भएको हो ।

, ‘भक्तपुर, गोलमढीबाट प्राचीन सम्पदा कसरी बाहिरियो र यसको उत्पत्तिको प्रमाण के–कसरी पाउन सकिएला भनेर अनुसन्धान सुरु भइसकेको छ ।’

भक्तपुरको गोलमढीस्थित वीरभद्रेश्वर महादेव मन्दिरबाट हराएको अंशुवर्माकालीन पार्वतीको मूर्ति येल विश्वविद्यालयमा रहेको समाचार आएपछि खोजीनिती सुरु भइसकेको न्युयोर्कस्थित नेपाली महावाणिज्यदूत कार्यालयका अधिकारीले जनाएका छन् । चोरिएका/हराएका सम्पदाको खोजीनितीसम्बन्धी अन्तर्राष्ट्रिय अभियान ‘लस्ट आर्ट्स अफ नेपाल’ ले यो सम्पदाबारे पहिलोपटक सूचना बाहिर ल्याएको थियो । उक्त मूर्ति बौद्धमार्गी ‘तारा’ को भनेर युनिभर्सिर्टीको ग्यालरी वेबसाइटमा चर्चा गरिए पनि त्यो पार्वतीको मूर्ति भएको गोलमढीका श्रद्धालुको भनाइ छ ।

वेबसाइटका अनुसार सन् १९७६ मा भक्तपुर, गोलमढीबाट प्राप्त भएको यो मूर्ति सुरुमा स्पिन्क एन्ड सन लिमिटेड (लन्डन) ले देवीको मूर्ति भनेर कलासम्पदाका संग्रहकर्ता जेम्स एन्ड मार्लिन एल्सडर्फलाई सन् १९८४ मा बेचेको थियो । सन् २००२ मा माइकल एन्ड जर्जियाले अमेरिका पुर्‍याएको यो सम्पदा सन् २०१५ मा येल युनिभर्सिटीमा पुगेको देखिन्छ । तर यो सम्पदा कसले युनिभर्सिटीलाई बुझायो भन्ने स्पष्ट देखिँदैन ।

गोलमढीस्थित वीरभद्रेश्वर महादेव परिसरकै शिलालेखमा उल्लेख भएअनुसार पनि यो शिव–पार्वती मूर्ति अंशुवर्माकालीन हो । इतिहासविद् धनवज्र वज्राचार्यको ‘लिच्छविकालका अभिलेख’ (२०३०) पुस्तकमा यो गोलमढी शिवदेव सम्वत् ५१६ मा अंशुवर्मा ‘महासामन्त’ उपाधिबाट विभूषित भएपछि स्थापना गरिएको उल्लेख छ । गोलमढीस्थित मन्दिरबाट चोरिएको सम्पदाको प्रहरी रिपोर्ट तथा उत्पत्तिको पहिचान पत्रबारे खोजबिन गर्न भक्तपुर नगरपालिकाले पुरातत्त्व विभागलाई अनुरोध गरिसकेको छ ।