अन्त्य हुँदै गुगल, फेसबुक, एप्पल र अमेजनको मनोमानी

0

अमेरिकी संसदमा डेमोक्रेट र रिपब्लिकन दुवै राजनीतिक दलका सांसदहरुले पाँचवटा विधेयक पेस गरेका छन् । उल्लेखित विधेयकहरु पारित भएमा ठूला प्रविधि कम्पनीहरुको कथित मनोमानीमा रोक लाग्न सक्नेछ ।

अमेजन, गुगल, एप्पल तथा फेसबुक जस्ता ठूला कम्पनीहरुमाथि १६ महिना लामो अनुसन्धान पश्चात् अमरिकी संसदमा पाँचवाटा विधेयकको मस्यौदा पेस गरिएको हो ।

यी पाँच विधेयकको उद्धेश्य ती पाँचवटा दिग्गज प्रविधि कम्पनीहरुको शक्तिलाई सीमित गर्नु रहेको छ ।

डाटा म्यानेजमेन्ट, प्रतिस्पर्धा प्रवर्द्धन तथा अन्य कम्पनीहरु खरीदलगायतका विषयमा ती विधेयकहरु सम्बन्धित रहेको बताइएको छ ।

विधेयक तयार पार्ने समितिमा रिपब्लिकन तथा डेमोक्रेट दुवै पार्टीका सांसदहरु सहभागी छन् । यद्यपि यी विधेयकमा सहमति कायम भएर कानूनको रुपमा लिनमा भने केही लामो समय लाग्न सक्नेछ ।

मनोमानी र जरिमाना

गत सोमबार फ्रान्सले गुगलमाथि ठूलो राशी जरिमाना गर्‍यो। यसले विश्वस्तरीय प्रविधि कम्पनीहरुको नीतिमाथि पुनः सवाल उठाएको छ ।

विश्वको सबैभन्दा धेरै प्रयोग हुने इन्टरनेट सर्ज इन्जिन गुगलविरुद्ध विश्वभरका सरकारहरुले लगाम कसिरहेका छन् । फेसबुक, एप्पल तथा अमेजनले पनि विभिन्न सरकारका मुद्दा तथा कडा विरोधको सामना गर्नु परिरहेको छ ।

अघिल्लो वर्षको अक्टोबरमा अमेरिकाको न्याय मन्त्रालय तथा विभिन्न राज्यहरुले गुगलविरुद्ध एकाधिकार कायम गरेको भन्दै उजुरी गरेका थिए । गुगलविरुद्ध एन्टी ट्रस्ट कानूनको उल्लंघन गरेको आरोप लगाइएको छ ।

डिसेम्बर २०२० मा अमेरिकाका ४६ वटा राज्य सहित केन्द्र सरकारले एकाधिकार तथा प्रतिस्पर्धा विरोधी क्रियाकलाप अपनाएको भन्दै फेसबुकमाथि मुद्दा दायर गरेको थियो । फेसबुकलाई यसअघि पनि अदालत पुर्‍याइसकिएको छ तर उल्लेखित मुद्दाचाहिँ फेसबुकविरुद्धको सबैभन्दा गम्भीर मानिएको छ ।

गुगलविरुद्ध अघिल्लो वर्ष भारतमा पनि सोही प्रकारको उजुरी दर्ता गरियो । दुईजना वकिलहरुको उजुरीका आधारमा भारतीय प्रतिस्पर्धा आयोगले गुगलमाथि छानबिन गरिरहेकेा छ । गुगलले स्मार्ट टेलिभिजन अपरेटिङ सिस्टममा बजारमा रहेको आफ्नो पकडको दुरुपयोग गरेको दाबी उजुरीमा गरिएको थियो ।

यही फेब्रुअरी महिनामा अष्ट्रेलियाले गुगल तथा फेसबुक जस्ता कम्पनीहरुलाई देशका सञ्चारमाध्यमहरुका सामग्रीहरुको प्रयोग गरेबापत पैसा तिर्नका लागि कानूनीरुपमा बाध्य पारेको छ ।

भारतीय सर्वोच्च अदालतका एक वकिलले बीबीसीसँगको कुराकानीमा भनेका छन्- गुगल, एप्पल र फेसबुक जस्ता दिग्गज प्रविधि कम्पनीहरुले अनेक समूहका कम्पनीहरुबाट जम्मा गरिएका ठूलो परिमाणका डाटाको माध्यमबाट इ कमर्श, मिडिया, विज्ञापन, खुद्रा बजारसमेत अर्थव्यवस्थाका अधिकांश क्षेत्रमा आफ्नो एकाधिकार हासिल गरेका छन् । अमेरिकामा एफटिसी तथा अष्ट्रेलिया, युरोप अनि भारतमा सम्बन्धित प्राधिकरणका रिपोर्टहरुबाट यी कम्पनीहरुको एकाधिकारवादी रवैयाको पुष्टि हुन्छ ।

विज्ञका अनुसार मुलुकहरुले ठूला प्रविधि कम्पनीहरुलाई विना कुनै अनुसन्धान लामो समयसम्म आफ्नो मुलुकमा सञ्चालन गर्न दिनाले गोपनीयतामा ह्रास, अत्यधिक विज्ञापन तथा खराब प्रडक्ट जस्ता समस्या सिर्जना हुने गरेका छन् । एप्पलका उपकरण चर्को मूल्यमा किन्नु पर्दछ भने फेसबुक र गुगलले आफ्ना प्रयोगकर्ताालाई नै प्रोडक्ट बनाइसकेका छन् ।

यही हप्ता फ्रान्सले गुगलमाथि करोडौँको जरिमाना लगाएको छ र गुगलको आफूमाथिको जरिमाना स्वीकार गरेको छ । गुगलले फ्रान्सको एन्टी ट्रस्ट प्राधिकरणसँग एक अभूतपूर्व सम्झौताका माध्यमबाट व्यापकरुपले उपयोग हुने आफ्ना केही अनलाइन विज्ञापन सेवाहरुमा परिवर्तन गर्न सहमति जनाएको छ ।

जटिल अनलाइन विज्ञापन व्यवसायमा आफ्नो बजार शक्तिको दुरुपयोग गरेको र ठूला प्रकाशकहरु गुगलकै अनुसार चल्न बाध्य भएको तथ्य एक अनुसन्धानबाट पुष्टि भएसँगै फ्रान्सले गुगलमाथि २६ करोड डलर जरिमाना गरेको हो ।

गुगलमाथि चालु वर्षमा लागेको यो दोश्रो झट्का हो । यसअघि गत फेब्रुअरी अष्ट्रेलियाले एक नयाँ कानून पारित गर्दै पहिलो झट्का दिएको थियो । उक्त नयाँ कानूनअनुसार गुगल तथा फेसबुक जस्ता कम्पनीहरुले आफ्नो प्लाटर्फममा मिडिया कम्पनीहरुका सामाग्रीहरु प्रयोग गर्दा त्यसबापत शुल्क तिर्नुपर्दछ ।

यो कानून पछि सुरुमा त फेसबुकले अष्ट्रेलियामा न्यूज सेवा बन्द गर्‍यो र गुगलले देश छाड्ने धम्की दियो । तर अन्तमा दुवै कम्पनीहरु अष्ट्रेलियाको नयाँ कानूनको पालना गर्न बाध्य भए र अष्ट्रेलियन समाचार एजेन्सीहरुलाई शुल्क तिर्ने विषयमा छुट्टाछुट्टै सम्झौता गरे ।

गुगल भन्दा अगाडिको सर्च सिस्टम

३ वर्षअघिसम्म कसैलाई पनि थाहा थिएन कि इन्टरनेटमा गरिने सर्च अर्थात् खोजी पनि खर्बौँ डलरको एक विश्व व्यापार हो ।

सुस्त इन्टरनेट गतिमा नेटस्केप तथा एओएल जस्ता सर्च इन्जिनहरुको प्रयोग गरिने पहिलेको जमाना गुगलको अहिलेको खर्बौँ डलरको विश्व व्यापारका विषयमा कसैले पनि अनुमान लगाउन सक्ने कुरा थिएन ।

सन् १९९८ को सेप्टेम्बर मा ल्यारी पेज र सर्गेइ बि्रनले एक ठूलो बजारको सपनालाई साकार गर्नका लागि गुगलको सुरुआत गरे र केही वर्षमै गुगल विना इन्टरनेटको कल्पना गर्नु नै मुस्किल हुने अवस्था आएको छ । योसँगै गुगलले इन्टरनेट सर्चसँग सम्बन्धित हरेक क्षेत्रमा खुट्टा हाल्यो र भारी मुनाफा कमाउन थाल्यो । इन्टरनेट सर्चको व्यापारमा गुगलले एकाधिकार कायम गर्‍यो ।

सन् २००६ को नोभेम्बरमा गुगलले सबैभन्दा ठूलो भिडियो साइट युट्युब खरीद गर्‍यो। गुगलले केवल विज्ञापन, मार्केटिङ, ट्राभल, फूड, म्युजिक तथा मिडिया जस्ता हरेक क्षेत्रमा आफ्नो कदम राख्ने मात्र नभइ तत् तत् क्षेत्रका प्रयोगकर्ताबाट प्राप्त हुने डाटालाई आफ्नो व्यापार चम्काउनमा प्रयोग गर्‍यो ।

कसरी चल्छ गुगलको व्यापार ?

विशेषज्ञहरुका अनुसार गुगलको व्यापार मोडेल ती अर्बौँ प्रयोगकर्ताहरुको व्यक्तिगत डाटामा आधारित हुन्छ जसले अनलाइन सर्च गर्दछन्, युट्युबमा भिडियो हेर्दछन्, डिजिटल म्यापको प्रयोग गर्दछन्, यसको भ्वाइस एसिस्टेन्टसँग कुरा गर्दछन् तथा यसको फोन सफ्टवेयरको प्रयोग गर्दछन् ।

प्रयोगकर्ताका ती डाटाले गुगलको त्यो विज्ञापन मेसिन चलाउनमा मद्धत गर्दछ जसले गुगललाई एक दिग्गज कम्पनीमा बदलेको छ । अर्थात् गुगलको डाटा विश्लेषण गर्ने प्रणालीलाई थाहा हुन्छ कि कुनै प्रयोगकर्तालाई कस्तो खालको विज्ञापन देखाएमा विज्ञापन गरिएको सामान उसले खरीद गर्ने सम्भावना बढ्दछ ।

गुगल क्रोमले अहिले ६९ प्रतिशत हिस्सासहित केवल सर्चमा मात्र होइन इन्टरनेट ब्राउजरको बजारमा पनि आधिपत्य कायम गरिरहेको छ । अर्थात् तपाईंले गुगलमा कुनै सर्च गरिरहनु भएको छैन भने पनि जिमेल, क्रोम वा अन्य कुनै तरिकाले गुगलको दायरामै हुनुहुन्छ र तपाईंका डाटाहरु गुगलले जम्मा गरिरहेकै हुन्छ ।

अर्कोतर्फ माइक्रोसफ्टको इन्टरनेट एक्सप्लोररको बजार हिस्सा ५ प्रतिशतमा सिमित बनेको छ र कम्पनीले यो ब्राउजरलार्य बन्द गर्ने घोषणा गरिसकेको छ । आगामी वर्ष १५ जुनबाट इन्टरनेट एक्सप्लोरर बन्द हुनेछ ।

गुगलको कथित एकाधिकारको यात्रा

सन् १९९८ मा स्थापना भएयता गुगलका दर्जनौँ साना कम्पनीहरु खरीद गरेर आफूमा समाहित गरिसकेको छ । जसका कारण अमेरिकी इन्टरनेट सर्च मार्केटमा गुगलको हिस्सा ९० प्रतिशत रहेको छ ।

अमेरिकी न्याय मन्त्रालयले दायर गरेको मुद्दामा गरिएको दाबी अनुसार गुगलले अन्य कम्पनीहरु खरीद गर्ने सम्झौताहरु यस्ता हुन् जसले गुगललाई संसारमा प्रतिस्पर्धीविहीन सर्च इन्जिन बनाइदिएको छ ।

यस्ता छन् गुगलका केही खरीद सम्झौताहरु –

· सन् २००५ मा गुगलले केवल ५ करोड डलरमा एन्ड्रोइड खरीद गर्‍यो । यसलाई डिजिटल जगतको सबैभन्दा महत्वपूर्ण र सबैभन्दा सस्तो सम्झौता मानिन्छ । यो खरीद सम्झौता गुगलका लागि गेम चेन्जर सावित भयो । अहिले विश्वका ७० प्रतिशत स्मार्टफोनमा एन्ड्रोइड अपरेटिङ सिस्टम रहेको छ, जसमा गुगल सर्च इन्जिन पहिले नै इन्स्टल गरिएको हुन्छ ।

· सन् २००७ मा ३ अर्ब १० करोड डलरमा गुगलले डबल क्लिक खरीद गर्‍यो। उक्त खरीद पश्चात् डिजिटल विज्ञापनको क्षेत्रमा गुगलको तीव्र विस्तार भयो । स्मरण रहोस् त्यस समयमा गुगल याहुभन्दा ७ गुणा सानो थियो ।

· सन् २०१० मा गुगलले आइटिए सफ्टवेयर खरीद गर्‍यो । ७० करोड डलरमा । उक्त खरीद पश्चात् ट्राभल सर्च र बुकिङ्मा गुगल एक ठूलो खेलाडि बन्न सफल भयो ।

गुगलको तर्क

एन्ड्रोइड अपरेटिङ सिस्टमको अधिग्रहणले गुगलको विस्तार तथा एकाधिकार कायम गर्नमा जति सहयोग पुग्यो सायद त्यति फाइदा अरु कुनै खरीदकर्ताले पाउन सकेको छैन होला । अहिले एन्ड्रोइड फोन सर्चबाट केवल गुगललाई मात्र पाइदा छ । त्यसैले अमेरिकी प्रशासनले यसविरुद्ध एकाधिकार व्यापार गरेको आरोप लगाएको छ ।

तर गुगल भने यस्तो आरोप अस्वीकार गर्दछ । गुगलको तर्क छ : मानिसहरु आफ्नो इच्छाले गुगलको प्रयोग गर्दछन् । कसैलाई पनि गुगल चलाउन बाध्य पारिएको छैन । मानिसहरुसँग गुगलको विकल्प नभएको पनि होइन ।

आफुविरुद्धका मुद्दा तथा तर्कहरुमा खोँट रहेको गुगलको दाबी छ ।

विज्ञका अनुसार नि:शुल्क सेवा प्रदान गरिरहेको र कुनैपनि एकाधिकार कायम नगरेको भन्ने गुगललगायतका ठूला कम्पनीहरुको दाबी पूर्णरुपमा गलत हो । सरकारहरुले आफ्ना जनताबाट प्रत्यक्ष र अप्रत्यक्ष कर उठाएजस्तै यी ठूला प्रविधि कम्पनीहरुले आफ्ना करोडौँ प्रयोगकर्ताहरुबाट उनीहरुको जानकारी विना नै पैसा कमाइरहेका छन् । ती कम्पनीहरुको अनौठो व्यापारिक मोडेलबाट संसारभरका ३ अर्बभन्दा धेरै इन्टरनेट प्रयोगकर्ताहरु प्रडक्ट भनेर डाटाको अन्तराष्ट्रिय बजारमा दिनहुँ लिलाम भैरहेका छन् ।

एप्पल तथा गुगल दुबैले आफ्नो एप स्टोरबाट एप खरीदका क्रममा ३० प्रतिशत सम्म शुल्क असुली गर्ने गर्दछन् । प्रयोगकर्तालाई सुरक्षा प्रदान गर्नका लागि यो शुल्क उचित रहेको तर्क उनीहरुको छ ।

अमेरिकी सिनेटस्थित न्यायपालिका समितिको एन्टी ट्रस्ट प्यानलका अनुसार एप्पलको एप स्टोर तथा गुगलको गुगल प्लेस्टोर प्रतिस्पर्धा विरोधी छन् । दुबै स्टोरहरुले त्यस्ता एपहरुलाई भित्राउँदैनन् वा दबाउँछन् जसले गुगल वा एप्पलसँग प्रतिस्पर्धा गर्दछन् ।

एप डेभलपर्सका अनुसार प्रतिस्पर्धाको कमीका कारण एप्पल तथा गुगलले जबरजस्ती असुली गरिरहेका छन् । एप्पलले आफ्नो एप स्टोरको प्रयोग प्रतिद्वन्द्वीलाई पछार्नका लागि गर्ने गरेको समेत आरोप लाग्ने गरेको छ ।

के फेसबुक टुक्रिन सक्छ ?

यद्यपि यो प्रश्नको जवाफ अहिले कसैसँग पनि छैन । तथापि अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालका बेला यस्तो चर्चा सुनिएको थियो र यो बहस अहिले पनि जारी छ ।

फेसबुकले ट्रम्पको अकाउन्टमाथि दुई वर्षको प्रतिबन्ध लगाएको छ । अघिल्लो डिसेम्बरमा ट्रम्पको शासनकालमा ४६ राज्य सहित ट्रम्प प्रशासनले पनि एकाधिकार तथा प्रतिस्पर्धा विरोधी तरिका अपनाएको भन्दै फेसबुकमाथि मुद्दा दायर गरेका थिए ।

हालको मुद्दामा फेसबुकमाथि एक गम्भीर आरोप लगाइएको छ । फेसबुकले अवैधरुपमा किन र गाड अर्थात् बाइ एण्ड बरी रणनीति लागू गरेर एकाधिकार शक्ति कायम राख्ने गरको र त्यसले प्रतिस्पर्धाको सम्भावनालाई समाप्त पार्ने, प्रयोगकर्ता तथा विज्ञापनदाता सबैलाई हानी पूराउने आरोप फेसबुकमाथि लागेको छ ।

फेसबुकले कसरी प्रतिस्पर्धालाई निस्तेज पार्दछ भन्ने उदाहरण यसका सीईओ मार्क जुकरबर्गको सन् २०१२ को एक आधिकारिक इमेलबाट प्रष्ट हुन्छ, जो अहिले सार्वजनिक भैसकेको छ ।

उक्त इमेलमा जुकरबर्गले लेखेका थिए-हालै म एउटा व्यवसायिक प्रश्नमाथि मन्थन गरिरहेको छु । हामीले प्रतिस्पर्धी नेटवर्क बनाइएका र व्यापारको सुरुवाती अवस्थामा रहेका इन्स्टाग्राम तथा पाथजस्ता मोबाइल एप कम्पनीहरु हासिल गर्नका लागि कति रकम भुक्तान गर्नुपर्ला ? यिनीहरुको व्यापार सुरुवाती अवस्थामा रहेपनि स्थापित नेटवर्क छ । ब्राण्ड पहिले देखिनै स्थापित छ र यदि उनीहरु ठूलो परिमाणमा विकशित भएमा ती हाम्रा लागि निकै नोक्सानकारी हुनेछन् ।

फेसबुकले एक अर्ब डलरमा इन्स्टाग्राम खरीद गरेको थियो र दुई वर्षपछि १९ अर्ब डलरमा ह्वाट्सएप खरीद गर्‍यो ।

अमेरिकका ४६ वटा राज्यले हालेको मुद्दामा इन्स्टाग्राम र ह्वाट्सएप खरीद गर्ने फेसबुकको सम्झौता रद्द गर्न माग गरिएको छ । यदि अदालत उक्त मागदाबीमा सहमत भएमा फेसबुकले आफ्नो तरिकामा सुधार गर्नुपर्नेछ । सम्भवतः ह्वाट्सएप र इन्स्टाग्रामलाई बेच्नुपर्ने हुनसक्छ । साथै भविष्यमा अन्य कम्पनीहरु खरीद गर्न पनि मुस्किल हुनेछ ।

बीबीसीबाट