इटहरीमा अक्सिजनसहित ४० बेडको आइसोलेसन तयार

0

सुनसरी — नेपाल प्रेस युनियन सुनसरी र युवा उद्यमी मञ्च सुनसरीको सहकार्यमा उद्योग वाणिज्य संघ इटहरीले अक्सिजनसहितको ४० बेडको आइसोलेसन सेन्टर तयार गरेको छ ।

इटहरी १० स्थित पिपुल्स मल्टिपल हेल्थ इन्स्टिच्युटको भवनमा अक्सिजनसहितको ४० बेडको आइसोलेसन तयार भएको हो । प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारीका अनुसार जिल्लामा रहेर अग्रभागमा खटिने पत्रकारहरूमा पनि कोरोनाको जोखिम बढेकाले आइसोलेसन निर्माणका लागि सहकार्य गरेको बताए ।

उनले भने, ‘अग्रभागमा खटिने पत्रकारहरूमा बढी जोखिम भएकाले यहा संक्रमित पत्रकारहरू बस्न सक्नेछन् ।’ अधिकारीले आइसोलेसन सेन्टर पत्रकारहरूका लागि पनि लक्षित गरेर निर्माण सुरु गरिएको बताए ।

उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष भीम पौडेलले इटहरीमा पछिल्लो समय कोरोना संक्रमितको संख्या वृद्धि भएपछि आफूहरूले खाना, बस्न तथा अक्सिजनसहित ४० बेडको निःशुल्क आइसोलेसन तयार गरेको बताए । यसअघि इटहरी उपमहानगरपालिकाले वडा ९ मा रहेको रंगशालामा ५० बेडको आइसोलेसन तयार गरेको जनाएको छ ।